नेपाली राजदूतावास, अबुधाबीद्वारा महत्वपूर्ण सूचना जारी: राहदानी, श्रम अधिकार र कानुनी सजायसम्बन्धी जानकारी सार्वजनिक
नेपाली राजदूतावास, अबुधाबीले संयुक्त अरब इमिरेट्समा रहेका नेपाली नागरिकहरूका लागि सोधिने प्रश्नहरू (FAQ) को विस्तृत जानकारी सार्वजनिक गरेको छ। यसले राहदानी, भिसा, श्रम अधिकार, कानुनी सजाय, मृत्यु भएको अवस्थामा गर्नुपर्ने प्रक्रिया लगायत विभिन्न विषयहरू समेटेको छ।
यो सूचना संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरूलाई प्रशासनिक तथा कानुनी मामिलामा सहजीकरण गर्न मार्गदर्शकको रूपमा रहेको छ।
आवश्यक कागजात र राहदानी सुरक्षा
राजदूतावासले सबै नेपाली नागरिकहरूलाई निम्न कागजातहरू सधैं सुरक्षित राख्न सुझाव दिएको छ:
- राहदानी, इमिरेट्स आइडी
- नागरिकताको डिजिटल प्रतिलिपि
- कम्पनीको ठेगाना, फोन नम्बर, कार्य सम्झौता
राहदानी तथा भिसा नवीकरण:
राहदानीको म्याद ६ महिनाभन्दा कम र भिसाको म्याद ३ महिनाभन्दा कम भएमा तुरुन्त नवीकरण गर्न राजदूतावासले आग्रह गरेको छ।
कम्पनीले राहदानी राखेमा:
कम्पनीले राहदानी राख्नु गैरकानुनी हुँदा यस्तो भएमा मानव संसाधन तथा इमिराटाइजेसन मन्त्रालय (MOHRE) मा उजुरी दिन सकिने जानकारी दिइएको छ।
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी कडा चेतावनी
सार्वजनिक स्थलमा भएका घटनाका फोटो, भिडियो वा टिकटक बनाई सामाजिक सञ्जालमा राखेमा स्थानीय कानुनअनुसार कडा कारबाही हुने राजदूतावासले जनाएको छ।
त्यस्तै, झुटा समाचार, भ्रामक रिपोर्ट वा हल्ला फैलाएमा कम्तीमा १ देखि २ वर्षको कैद र १ लाखदेखि २ लाख दिरामसम्म जरिवाना हुन सक्ने चेतावनी दिइएको छ।
श्रम सम्बन्धी जानकारी
तलब नदिएमा वा कम दिएमा:
आफ्नो कन्ट्र्याक्ट, बैंक स्टेटमेन्ट, डब्लूपीएस, म्यासेज सुरक्षित राखी कम्पनीलाई लिखित जानकारी दिनुपर्छ। समस्या समाधान नभएमा MOHRE मा उजुरी दिन सकिन्छ।
बसोबासको समस्या:
कम्पनीले बसोबास नदिएमा वा खराब अवस्थामा राखेमा फोटो/भिडियो प्रमाण संकलन गरी HR लाई जानकारी दिनुपर्छ। सुधार नभएमा MOHRE मा उजुरी गर्न सकिन्छ।
उजुरी कसरी दिने?
MOHRE App, वेबसाइट, 80060 / 600590000 मा फोन गरी वा Tasheel Center मार्फत निःशुल्क उजुरी दिन सकिन्छ।
Visa Cancellation:
पहिले MOHRE मार्फत श्रम अनुमति रद्द हुन्छ, त्यसपछि मात्र भिसा रद्द हुन्छ। भिसा रद्द भएपछि ३० दिनको ग्रेस पिरियड हुन्छ, जसमा नयाँ भिसा लगाउने वा युएइ छोड्ने विकल्प हुन्छ।
अमानवीय व्यवहार भएमा:
MOHRE: 80060, प्रहरी: 999 मा सम्पर्क गर्नुका साथै राजदूतावास र महावाणिज्य दूतावासलाई जानकारी गराउन आग्रह गरिएको छ।
ओभरस्टे जरिवाना
युएइमा पुरानो भिसा समाप्त भएपछि करिब ३० दिनको ग्रेस पिरियड हुन्छ। सो समयमा भिसा नवीकरण नगरेमा वा नेपाल नफर्किएमा दैनिक ५० दिरामको दरले जरिवाना लाग्ने व्यवस्था छ।
मृतकको हकमा प्रक्रिया
कसैको मृत्यु भएमा स्थानीय निकायबाट अनुसन्धान प्रक्रिया सुरु हुन्छ। आवश्यक कागजातहरू:
- अस्पताल र प्रहरीबाट NOC/प्रहरी रिपोर्ट
- स्वास्थ्य निकायबाट मृत्यु सूचना र प्रमाणपत्र
- सबै कागजात तयार भएपछि राजदूतावासबाट शव स्वदेश पठाउन NOC जारी हुन्छ
यो प्रक्रिया पूरा हुन करिब १५ दिनदेखि १ महिनासम्म लाग्न सक्छ।
क्षतिपूर्ति सम्बन्धी जानकारी
क्षतिपूर्ति पाइने अवस्था:
- कार्यस्थलमा कार्यसम्बन्धी दुर्घटनाबाट अङ्गभङ्ग वा मृत्यु भएमा
- सडक दुर्घटनामा मृत्यु भएको अवस्थामा
क्षतिपूर्ति नपाइने अवस्था:
सुतेको ठाउँमा वा प्राकृतिक कारण (कार्डियक अरेस्ट) ले मृत्यु भएमा क्षतिपूर्ति पाइँदैन। तर, कम्पनीले जीवन बीमाको व्यवस्था गरेको भने बीमा रकम प्राप्त हुनेछ।
आवश्यक कागजातहरू:
मृत्यु प्रमाणपत्र, राहदानी र आइडी प्रतिलिपि, रोजगारी सम्झौता, प्रहरी प्रतिवेदन, नाता प्रमाणित कागजात, पावर अफ अटर्नी, विवाहको कागजात (यदि लागू भएमा), कानुनी हकवालाको नागरिकताको प्रतिलिपि
सम्पर्क विवरण
नेपाली राजदूतावास, अबुधाबी:
- पासपोर्ट/प्रमाणीकरण: +971566079504
- श्रम विषय: +971509893190
- कन्सुलर सेवा: +971501664023
- ल्यान्डलाइन: +971 2 634 4469 (कार्यालय समयमा)
इमेल:
- श्रम विषय: support.abudhabi@mofa.gov.np
- कन्सुलर विषय: consular.abudhabi@mofa.gov.np
- सामान्य विषय: eonabudhabi@mofa.gov.np
फेसबुक: https://www.facebook.com/EmbassyofNepalUAE/
नेपाली महावाणिज्य दूतावास, दुबई:
- पासपोर्ट/प्रमाणीकरण: +971503949304
- श्रम विषय: +971503612305
- इमेल: cgndubai@mofa.gov.np
Tasheel Centres सम्पर्क:
- 80060 / 600590000
Amer Center (Immigration/Visa Cancellation):
- दुबई: 800 511
नेपाली राजदूतावासले सबै नेपाली नागरिकहरूलाई स्थानीय कानुनको पालना गर्न, आवश्यक कागजात सुरक्षित राख्न, तथा कुनै समस्या परेमा राजदूतावास वा सम्बन्धित निकायमा तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ।