nepal-airlines-special-flight

इरान युद्ध सुरु भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुबई र दमामका लागि शुक्रवारबाट विशेष उडान गर्न लागिएको जनाएको छ।

खाडी क्षेत्रमा फेब्रुअरी २८ देखि तनाव चुलिएपछि नियमित उडानहरू स्थगित गर्दै आएको निगमले यूएई र साउदी अरबका एक-एक स्थानका विशेष उडान गर्न लागेको हो।

निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार पहिलो विमान काठमाण्डूबाट शुक्रवार राति ११ः१५ बजे दुबईका लागि प्रस्थान गर्ने छ। उक्त विमान दुबईबाट शनिवार बिहान स्थानीय समयानुसार ४ः१० बजे काठमाण्डूका लागि उड्ने उनले बताइन्।

त्यसै गरी निगमले आइतवार बिहान ८ः३० बजे काठमाण्डूबाट साउदी अरबको दमामका निम्ति उडान सञ्चालन गर्ने तय भएको छ। सोही दिन स्थानीय समयानुसार दिउँसो १२ः२० बजे निगमको विमान दमामबाट काठमाण्डूका लागि प्रस्थान गर्ने छ।

खाडीमा विकसित घटनाक्रमका कारण विभिन्न देशमा ठूलो सङ्ख्यामा नेपालीहरू स्वदेश फिर्ता हुन नपाएको विवरणहरू आएका छन्। निगमले एउटा सूचना प्रकाशित गर्दै यात्रुहरूको सहजताका लागि विशेष उडान गर्न लागिएको जनाएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले परराष्ट्रमन्त्री खनालको पहल तथा सक्रियतामा विशेष उडान गराउन लागिएको हो।

“तत्कालका लागि दुईवटा [आउजाउ गरी चार] विशेष उडान गराउन लागिएको हो,” प्रवक्ता पौडेल क्षेत्रीले भने।

ती विशेष उडानमार्फत् कति नेपालीहरू स्वदेश फर्कन लागेका हुन् भन्नेबारे परराष्ट्रका अधिकारीहरूले खुलाएका छैनन्।

“उताबाट आउन थुप्रै नेपालीले सम्पर्क गर्नुभएको छ। केही नेपालीहरूका शव पनि ल्याउने व्यवस्था मिलाइएको छ। तर ती मृत्युहरू जारी द्वन्द्वसँग सम्बन्धित होइनन्,” प्रवक्ता पौडेल क्षेत्रीले भने।

उनका अनुसार विभिन्न खाडी देशमा गरी ३८ जनाको मृत्यु भएकोमा नौ वटा शव यसअघि ल्याइसकिएको छ।

नेपाल वायुसेवा निगमका अधिकारीहरूले पनि ती उडानहरूबाट कति यात्रुहरू आउने भन्नेबारे केही खुलाएका छैनन्।

खाडी मुलुकहरूमा एउटा निश्चित समयपछि शवहरू राख्न कठिन र धेरै महँगो हुने भएर पनि केही शवहरू नेपाल पठाउन लागिएको नेपाली कूटनीतिक नियोग अधिकारीहरूले बताएका छन्।

नयाँ सरकार गठन भइसकेपछि शवहरू नेपाल ल्याउनका लागि मृतकका आफन्तहरूले पनि दबाव दिँदै आएका बुझिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *