पछिल्ला दिनमा सेयर लगानीसम्बन्धी विभिन्न टिप्पणी सार्वजनिक भइरहेका विषयमा गृहमन्त्री सुदन गुरुङले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जाल तथा सार्वजनिक बहसमा प्रस्तुत केही दाबीहरू तथ्यगत रूपमा नबुझी व्याख्या गरिएको बताएका छन्।
गुरुङका अनुसार सम्पत्ति विवरणमा उनले धितोपत्र बजारमा कारोबार हुने सेयरलगायत २ करोड रुपैयाँभन्दा बढीको लगानी स्पष्ट रूपमा उल्लेख गरेका छन्, जुन मन्त्रिपरिषद्को वेबसाइटमार्फत हेर्न सकिन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्समा रहेको लगानी पनि यही वर्गीकरणभित्र समेटिएको उनले स्पष्ट पारे।
“२५ लाखको सेयर लुकाइएको” भन्ने दाबीबारे उनले वर्गीकरणको विषयलाई गलत रूपमा प्रस्तुत गरिएको बताए। उनका अनुसार सम्पत्ति विवरणमा ठूलो रकम खुला रूपमा राख्ने व्यक्तिले सानो रकम लुकाउने प्रश्न नै उठ्दैन।
यस्तै, “मन्त्री हुनुअघि सेयर किनिएको” भन्ने टिप्पणीबारे उनले सेयर किनबेच वैधानिक रूपमा बैंकिङ च्यानलमार्फत भएको बताए। लगानीका लागि प्रयोग भएको रकम ऋणमार्फत जुटाइएको र त्यसको तमसुक २०८०/०५/२९ मा दर्ता भएको कागजी प्रमाण रहेको उनले उल्लेख गरे।
“विवादित व्यक्तिसँग साझेदारी” गरिएको भन्ने आरोपबारे उनले सेयर किन्नु भनेको कम्पनीका सयौँ–हजारौँ सेयरधनीमध्ये एक हुनु मात्र भएको बताए। उनका अनुसार एउटै कम्पनीमा विभिन्न क्षेत्रका संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरू हुने भएकाले सेयरधनीलाई एउटै श्रेणीमा राखेर आरोप लगाउनु उचित हुँदैन।
उठाइएको “conflict of interest” सम्बन्धी प्रश्नबारे उनले छानबिन गर्ने अधिकारसम्पन्न निकाय अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धिकरण विभाग भएको र सोही निकायले प्रक्रिया अघि बढाइरहेको बताए। “यदि हस्तक्षेप हुने हो भने छानबिन प्रक्रिया नै अघि बढ्दैन,” उनले भने।
उनका अनुसार व्यापारिक लगानीमा जोखिम स्वाभाविक हुने भएकाले पछिल्लो घटनालाई आधार बनाएर अघिल्लो निर्णयलाई दोषारोपण गर्नु तथ्यगत हुँदैन। कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया नदिनु नै उपयुक्त हुने उनको भनाइ छ।
अन्त्यमा, गुरुङले उठेका सबै प्रश्न प्रमाणका आधारमा समाधान हुने विश्वास व्यक्त गर्दै पार्टीले गर्ने निर्णयको पालना गर्ने र छानबिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
