सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका व्यापारी दीपक भट्टलाई बिहीबार नेपाल प्रहरीले पक्राउ गरेकाे छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार उनलाई काठमाडौंको नक्साल* क्षेत्रबाट पक्राउ गरिएकाे हो ।
यसअघि सोमबार विभागको पत्रकै आधारमा अध्यागमन विभागले भट्टलाई कालाेसूचीमा राखेर विदेश जान समेत राेक लगाएकाे थियो । भट्ट र उनी आबद्ध कम्पनी तथा त्यस मातहतका सम्पत्तिमा विभागले अनुसन्धान गरिरहेकाे छ ।
को हुन दीपक भट्ट ?
सरकारी अभिलेखअनुसार डडेल्धुराको साविक भद्रपुर गाविस–२ (हाल अजयमेरु गाउँपालिका) मा २२ माघ २०३७ मा जन्मिएका भट्ट कसरी शक्ति र सत्ताको निकट पुगे भन्ने आफैंमा रोचक विवरण छ। काठमाडौंको सानेपामा बस्ने ४४ वर्षीय भट्ट पछिल्लो डेढ दशकयता निरन्तर सत्ता र शक्तिका प्रिय पात्रका रूपमा चिनिन्छन्। भट्टमाथी विगतमा सत्तापक्ष, प्रतिपक्ष, संसद्का राज्य व्यवस्था समिति र सार्वजनिक लेखा समितिलाई प्रभावमा पार्ने गरेको आरोप लाग्दै आएको छ ।
२०७७ साउन पहिलो साताको कुरा हो। तत्कालीन नेकपाभित्र विवाद चलिरहेको थियो। तर यो विवाद सल्टाउन एक गैरराजनीतिक व्यक्ति सक्रिय थिए। उनी अरू कोही नभएर यिनै दीपक भट्ट थिए।