(एक वर्षअघिको डायरी पाना)
आज पनि बिहान सगरमाथा जत्तिकै गाह्रो लाग्छ सास फेर्न। हरेक साँझ अघिल्लो दिनभन्दा गाढा हुन्छ । म झुटो हाँसो ओढेर बाँच्छु, तर भित्र म क्रमशः हराउँदै गएको छु।
त्यो एउटा वर्ष पहिलेको कुरा हो। म अमेरिका आएको केही महिना मात्र भएको थियो। देश, नियम, भाषा—सबै नयाँ, र म, पुरानै एक्ली आत्मा जसले बाल्यकालदेखि नै डिप्रेसन र एन्क्जायटीसँग संगत गरेकी। घरदेखि टाढा, एक्लो कोठा, र अञ्जान शहर। त्यो एकान्त आफैंमा एउटा अँध्यारो गर्त थियो, जहाँ म बिस्तारै डुब्दै गएँ।
मानसिक स्वास्थ्य गिर्यो। म अस्पताल पुगेँ। थाकेको शरीर, रुकिएको मन। अस्पतालको सेतो पर्खालले मेरो आँसु पुछ्दैन थियो—त्यो त मौन मात्र थियो। डिस्चार्ज हुँदा एउटा आशा भने बाँकी थियो, “थोरै लडे भने, सायद उज्यालो आइहाल्छ।”
त्यो समय, नेपालबाट केही पुराना चिनजानका दाइ-अंकलहरू अमेरिका आएका रहेछन्। सबैजना हाम्रो परिवारसँग वर्षौँदेखि सम्बन्ध राख्ने मान्छेहरू। बाबाले भन्नुभयो, “यस्तो बेला आफ्नै मान्छे भेट्दा मन हलुका हुन्छ छोरी।” म पनि त्यही सोच्थेँ—अञ्जान सहरमा कुनै चिनिने अनुहार भेट्दा शीतलता मिल्ला भन्ने।
म भेट्न गएँ। एक अंकल भेटिएनन्, त्यो बेलामा भने जसलाई म दाइ भन्थेँ, उहाँसँग भेट भयो। कुरा गर्दै गर्दा उहाँले हाँस्दै भन्नुभयो, “तिमी बस्ने ठाउँ देखाउ न।” म विश्वास गरेर, बिनासङ्का, उहाँलाई आफ्नो अपार्टमेन्ट लिएर गएँ।
त्यो साँझ… मेरो जीवन स्थिर भयो। हामी बसेर माझिँदै कुरा ग¥यौँ—मेरो स्वास्थ्य, संघर्ष, आँसु सबै पोखिए। तर त्यो भरोसाको क्षणमै, जसलाई म परिवार ठान्थेँ, उसले मेरो अस्तित्वमै घाउ हानेर गयो। त्यो रात म बलात्कृत भएँ।

अवाक् भएँ। आवाज हरायो। बाँच्ने हिम्मत हरायो। केही बोल्न खोजेँ, तर डरले घाँटी निचोर्यो—यदि भनेँ भने मेरो परिवारको दिल टुक्रिन्छ। त्यसैले चुप रहेँ।
आजसम्म ‘माफ गर्नुस् बाबा’ भन्न मन लाग्छ। त्यो समय तपाईं नजिक हुनुहुन्थ्यो भने सायद तपाईंको अँगालोमा रुन्थेँ, फेरि उठ्थेँ। तर त्यो दिन, म हजारौँ माइल टाढा, आकाशे दूरीमा हराएकी थिएँ।
मेरो मन, आत्मा, र शरीरले लड्नु रोक्यो। बाँकी जीवन त कुनै संगीन मुस्कानको मुखौटा मात्रै भयो। बिहान सास आउँछ, साँझ सास जान्छ—तर बीचमा म तँडप्दै बाँच्छु। लाग्छ, म त एउटा जीउँदो लाश मात्रै बनेकी छु।
त्यो राक्षस अझै स्वतन्त्र छ । हिँड्छ, हाँस्छ, बाँच्छ । र म यहाँ, भत्किइरहेकी छु—सानो साहस लिएर यो लेख्दै। मलाई थाहा छ, न्याय म पाउँदिन। लड्ने शक्तिसमेत सकिएको छ। तर उसले दण्ड भोग्नैपर्छ, किनभने कुनै अर्को आत्मा फेरि म जस्तै जल्न नपाओस्।
माफ गर्नुहोस्, मेरा प्रियहरू। तपाईंहरू निराश हुन सक्नुहुन्छ मसँग। तर सायद म जन्मेदेखि नै अपूर्ण, असफल प्राणी थिएँ।
तर अन्त्यमा, एउटा प्रश्न बाँकी छ—
कसैको जीवन जलाएर बाँच्दा, साँच्चै उज्यालो लाग्छ र?
……………………………………..सत्य घटनामा आधारित………………………………………

अपराधीले सजाए पावोस